यी प्रदेशहरुमा भैरहेको छ वर्षा : यस्तो छ मनसुनको पछिल्लो अपडेट

काठमाडौं ! हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखका मौमसविद् रोजल लामिछानेका अनुसार पछिल्लो तीन घन्टामा गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा रातिको समयमा वर्षाको सम्भावना  छ।

यस्तै कोशी प्रदेश, मधेश प्रदेश र देशका पहाडी भू–भागमा बदली रहनुका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मौसमविद् लामिछानेले मनसुन प्रणाली क्रमिकरूपमा देशभर फैलिने क्रममा रहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने बताए। गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो। मनसुन सुस्तगतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *