काठमाडौं ! मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) देशभरका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको छ। पुर्बाअनुमान महाशाखाका अनुसार ‘अहिले काठमाडौं उपत्यकाका कतै कतै र वरिपरि छिटपुट वर्षा भइरहेको छ’, ‘दिउँसो भने हिजोजस्तै अलि धेरै बेर वर्षा हुने सम्भावना छ।’
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
यस्तै राति पनि कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
त्यसमा भनिएको छ– कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।