आगामी तीन दिन देशभर भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन तराईका सबै जिल्लामा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए ।

“तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने छ । मनसुन सुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटीसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरूमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ,” उनले भने ।

उनकाअनुसार देशभर अबको तीन दिन भारी वर्षा हुने छ । “यो तीनदिन भारी वर्षा हुने छ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहिँ के छ भने सबै निकायहरूलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहिँ सतर्क भइदिनुहोला,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *