मौसम : काठमाडौंलगायतका ठाउँमा बिहानैदेखि वर्षा हुँदै

काठमाडौं : आज बिहानदेखि काठमाडौंआसपास लगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज  कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित सामान्य वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरी आउने जनाइएको छ।

शुक्रबार कोशी, बाग्मती, गण्डकी, मधेश तथा देशका पहाडी भू-भागमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने जनाइएको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

शनिबार पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित सामान्य वर्षा हुने महाशाखाले जनाएको छ।

 

वर्षा हुने ठाउँमा हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।