कतारका अमिर आज नेपाल आउँदै

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्।

थानी आज ५ बजेर ३५ मिनेटमा काठमाडौं उत्रने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। कतारका नरेश पहिलोपटक काठमाडौं आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन्। साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कतारी अमिर फिलिपिन्स र बंगलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन्।