कतारका अमिर नेपालको राजकीय भ्रमणमा आउँदै

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार भ्रमणको औपचारिक जानकारी दिएको हो।

भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्ने छन्।

कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन्। कतारका अमिर थानी सोही  दिन काठमाडौँबाट प्रस्थान गर्ने छन्।

कतारका अमिरको नेपाल भ्रमण मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमण भएकाले यसलाई सफल पार्नेगरि तयारी अगाडी बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  भ्रमणका क्रममा नेपाल र कतारले सन् २००५ मा भएको श्रम सम्झौतालाई अद्यावधिक गर्दै नवीकरण गर्न सक्ने बताइएको छ।

त्यस्तै कतार अमिरको नेपाल भ्रमणको क्रममा नेपाल र कतारबीच १९ वर्षअघि सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गरेर त्यसमा सम्झौता गर्ने लगायतका केहि महत्त्वपूर्ण विषयमा हस्ताक्षर हुन सक्ने बताइएको छ।  त्यस्तै नेपालका केहि महत्त्वपूर्ण परियोजनामा लगानीको लागि हस्ताक्षर हुने सम्भावना बढी रहेको बताईएको छ।

कतारी अमिरको नेपाल भ्रमणको टोलीमा कतारका परराष्ट्र राज्यमन्त्री, कतार चेम्बर अफ कमर्शका प्रतिनिधि लगायत रहने छन्।