उद्योगमन्त्री भण्डारीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

काठमाडौँ, ३२ साउन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायतबीच रहीआएको आपसी सम्बन्ध, नेपालको आर्थिक विकास, सुशासन एवं मानवीय सहायतालगायत विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा भेटमा मन्त्री भण्डारीले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएको बताउँदै यस अभियानमा नेपाललाई सघाउन आग्रह गर्नुभयो । औद्योगिक विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नका लागि पनि नेपाललाई सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधिलगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि सरकारको प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । उहाँले जडिबुटी, पश्मिना, चिया, तयारी पोसाक, गलैँचालगायत प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

राजदूत फेनले मन्त्री भण्डारीलाई पुनःनियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गर्नुभयो ।

बेलायतको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको र नेपालसँग थप साझेदारीका कार्यक्रममा अगाडि बढाउँदै लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।