अदालतबाट पक्राउ पुर्जी जारी भएका प्रकाण्डलाई बालुवाटारमै भेटे प्रधानमन्त्रीले

काठमाडौं ! जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

उनले शनिवार साँझ बालुवाटार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा अदालतबाट जारी पक्राउ पुर्जी, यसअघिको सरकारसँग भएका सहमतिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

‘नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समसामयिक विषयमा भेटवार्ता,’ प्रकाण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

अदालतले प्रकाण्डसहित पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, हेमन्तप्रकाश वली, माइला लामालगायत थुप्रै नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०७६ असोज ९ गते दायर भएको मुद्दामा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।