काठमाडौं ! संयुक्त राष्ट्रसंघका Under-Secretary General for Peace Operations, Mr. Jean Pierre Lacroix र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेट भएको छ ।
भेटका अवसरमा उपमहासचिव Lacroix ले संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिवद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताउनुभयो ।
भेटका अवसरमा उहाँहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका नेपालस्थित आवसीय प्रतिनिधि Hanaa Singer-Hamdy, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।