बामदेव गौतम एमालेमा विलय हुन तयार : यस्तो रह्यो अध्यक्ष ओलीसँग आजको भेटघाट

काठमाडौं !  वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेका छन्। उनले ओलीसँग एक घण्टा लामो भलाकुसारी गरेर च्यासलबाट निस्किएका छन् ।

च्यासलबाट बाहिरिने क्रममा उनले आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए । ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ’ ओलीसँगको भेटमा उनले भने–‘म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने हो ।’

उनी एमालेमा विलय हुन तयार भएका छन्। तर, उनको जिम्मेवारी के हुने भन्ने प्रष्ट खुलेको छैन । अध्यक्ष ओलीले नेताहरुसँग सल्लाह गरेर बताउने भनेको गौतमले बताए ।

गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका छन् । ओली–गौतमबीचको कुराकानीमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए भने ओलीले पहिला तपाईँ आउनुस् अनि व्यवस्थापन गरौंला भन्ने जवाफ दिएका छन् ।

‘अबको छलफलमा नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी नेकपा एमालेमा एकीकृत हुनका निमित्त तयार छ । म पनि तयार छु । तर यसमा भएका नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने हो त्यससम्बन्धी पहिला नै छलफल भएर टुंगो लगाएर मात्रै आउने भन्ने भएको छ’, गौतमले भने, ‘म तपाईंका विषयहरू अबको पार्टी बैठकमा राख्छु । त्यहाँबाट निर्णय गराएर अघि बढौला भन्ने भएको छ।’

सत्ता पक्षले समाजवादी मोर्चा बनाउने निश्चित भएपछि गौतम एमालेमा समाहित हुन तयार भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *