सांसद लेखनाथ दाहालले निराधार बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाइने

काठमाडौं : प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति जुटेको छ।

शनिबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकमा यो सहमति भएको हो।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रवारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो। सोही विषयलाई टुंग्याई सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो।

भेटमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने निराधार आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए।

उनले जलहरी प्रकरणमा ओलीको संलग्नता नरहेको र तथ्यहीन आरोप रहेको कुरा प्रधानमन्त्रीले सम्बोधन गर्नेमा सबै तीन दल सहमत भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *