आगलागीबाट घाइते सांसद चन्द्र भण्डारी भेट्न सभामुख भण्डारी निवासमा

काठमाडौं ! ग्यास लिकपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई आज साँझ सभामुख देवराज घिमिरेले बत्तिसपुतलीस्थित निवासमा भेट्नुभएको छ । सभामुखले घटनाबाट आफू दुखित भएको बताउँदै भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ । घटनापछि मलाई केही कुराहरु सदनमार्फत जनतालाई सुनाउन मन छ । जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ । तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभामा कठीन अवस्थामा पनि अभिभावकत्व निर्वाह गर्नुभयो । सम्माननीयज्यूबाट पनि संसदको अभिभावत्व कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने लागेको छ ।

सभामुखले भन्नुभयो- चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईंलाई बोल्ने व्यवस्था मिलाउँछौं । तर, जीवन रहे बोल्ने अवसर त आइहाल्छ । अहिले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।

महासचिव डा. भरतराज गौतमले भन्नुभयो- माननीयज्यूको स्वास्थ्यले साथ दिन्छ भने सचिवालयले विशेष व्यवस्था गर्छ ।

२०७९ फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई फागुन ४ गते श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार गराएर उहाँ वैशाख १७ गते काठमाडौं आउनुभएको थियो ।

उहाँकी आमा हरिकला भण्डारीको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुरमा निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *