नवनिर्वाचित राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं ! नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ ।

राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराउनुभयो । राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेको स्मरण गर्नुभयो ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *