उद्योगमन्त्री भण्डारी र कोरियन राजदूत थेयङबिच टिआइपीएफ सम्झौता कार्यान्वयनका विषयमा छलफल

काठमाडौं ! उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।

बिहान सिंहदरबारमा भएको भेटका क्रममा हालै सम्पन्न नेपाल–कोरिया बिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेम वर्क (टिआइपीएफ) सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको छ ।

उद्योग मन्त्री भण्डारी र कोरियन समकक्षी इन्क्यो च्योङबीच गत हप्ता मात्रै कोरियाको राजधानी सिओलमा टिआइपीएफ सम्झौतामा हस्ताक्षर भएको थियो । टिआइपीएफ सम्झौताले दुई देशबिचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ ।

कोरियाको सरकारले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा जलविद्युत्, अटो मोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको जनाएको छ । टिआइपीएफ सम्झौताले दुई देशबिचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताइएको छ ।
गत हप्ता सम्पन्न भएको मन्त्री भण्डारीको कोरिया भ्रमणका बेला नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको समेत सहभागितामा लगानी सम्मेलन लगायत विविध छलफल हुनु सकारात्मक पक्ष रहेको राजदूत थेयङको भनाई छ । उहाँले दुई देशका व्यवसायीहरूको छलफल तथा अन्तरक्रिया लगानीको वातावरणका विषयमा थप बुझ्ने मौका प्राप्त भएको बताउनुभयो ।
हालै कोरियाको भ्रमण गरी फर्किनुभएका मन्त्री भण्डारीको भ्रमण पश्चात् कोरियाली लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले कोरियन लगानीकर्ताका लागि नेपालमा उपयुक्त वातावरण निर्माण भएको बताउनुभएको छ । आफ्नो कोरिया भ्रमण उपलब्धिमूलक बनेको बताउँदै उहाँले दुई देशबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा थप सौहार्दपूर्ण वातावरण बनेको बताउनुभयो । विगतमा कोरिया र नेपाल समान अवस्थामा रहेको भएता पनि हाल कोरियाले पूजिँ र प्रविधिमा राम्रो विकास गरिसकेको हुँदा कोरियाको पूजिँ र प्रविधिबाट नेपाल समेत लाभान्वित हुने गरी सहकार्य अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले नेपालमा वैदेशिक लगानीको प्रतिफल र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राजदूत थेयङले टिआइपीएफ सम्झौता कार्यान्वयनका लागि कोरियाको उद्योग मन्त्रालयका तर्फबाट प्रक्रिया थालनीका लागि यथाशीघ्र पहल गरिने बताउनुभयो भने, मन्त्री भण्डारीले पनि नेपाल सरकारका तर्फबाट प्रक्रियाहरू अगाडी बढिरहेको बताउनुभयो ।

सो अवसरमा मन्त्रालयका प्रवक्ता तथा द्विपक्षीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीले हालै हस्ताक्षर भएको टिआइपीएफ सम्झौतालाई कार्यान्वयन गर्न परिषद् गठन गरी कार्य तत्काल अघि बढाउन अनुरोध गर्नुभयो । रासस