नेपाल आयल निगमको आधिकारिक ट्रेड युनियन चुनावमा एमाले–माओवादी समर्थित कर्मचारी संघ विजयी : अध्यक्षमा मधुमास पुन

काठमाडौं ! नेपाल आयल निगम लिमिटेडअन्तर्गत आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले–माओवादी समर्थित कर्मचारी संघ २५ मतान्तरले  विजयी भएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेस समर्थित कर्मचारी युनियनले दुई सय पाँच र एमाले–माओवादी समर्थित कर्मचारी संघले दुई सय ३० मत ल्याएको छ। यसअघि पनि निगमको आधिकारिक ट्रेड युनियन निर्वाचनमा कर्मचारी संघ नै विजयी भएको थियो।

आयल निगमको निर्वाचनमा कुल ४ सय ५६ मतदाता थिए । त्यसमध्ये चार सय ४२ मत खसेको र आठ मत बदर भएको थियो । प्राप्त नतिजाअनुसार टेकुस्थित प्रधान कार्यालयमा एक सय ३८ मत खसेमध्ये संघले १९ मतान्तर राख्दै ७७ मत ल्याएको थियो भने युनियनले ५८ मत ल्याएको थियो । निगमको १३ कार्यालयमा भएको निर्वाचनमा युनियनले ६ र संघले सात स्थानमा ‘लिड’ गरेका छन् । तर, युनियनले अधिकांश ठाउँमा झिनो मतले लिड गर्ने र संघले फराकिलो अन्तरले लिड गरेकाले अन्तिम नतिजामा संघ विजयी भएको हो ।
निर्वाचन समितिका अनुसार निगमको जनकपुरस्थित हवाई इन्धन डिपो र शाखा कार्यालयमा संघको ६ र युनियनको ११ मत आएको छ । त्यस्तै, सबैभन्दा ठूलो इन्धन डिपोको रूपमा रहेको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा संघको १६ र युनियनको २० मत आएको छ । वीरगन्जस्थित शाखा कार्यालयमा संघको २ र युनियनको ३, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयमा संघको १४ र युनियनको १६, थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा संघको २१ र युनियनको १२, नेपालगन्जस्थित शाखा कार्यालयमा संघको ११ र युनियनको १२, धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा संघको १२ र युनियनको तीन तथा सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालयमा संघको ४ र युनियनको तीन मत आएको छ ।
त्यस्तै, पोखराको गगनगौँडास्थित गण्डकी प्रादेशिक कार्यालयमा संघको नौ र युनियनको ७, झापाको चारआलीस्थित शाखा कार्यालयमा संघको नौ र युनियनको एक, विराटनगरस्थित एक नम्बर प्रादेशिक कार्यालयमा संघको १७ र युनियनको १९ तथा काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपोमा संघको ३१ र युनियनको ४१ मत आएको छ ।

निर्वाचित आधिकारिक ट्रेड युनियनको अध्यक्ष निगमको सञ्चालक समितिमा आमन्त्रित सदस्य हुने व्यवस्था भएकाले जितको लागि दुवै समूह तीव्र प्रतिस्पर्धामा उत्रिएका थिए । बोर्डसदस्यसमेत रहने आधिकारिक ट्रेड युनियनले निगमको नीति–कार्यक्रम र बजेटमा प्रत्यक्ष हस्तक्षेप गर्ने तथा आफू अनुकूलका कर्मचारीको सरुवा–बढुवा र संरक्षण गर्ने ल्यागत राख्छन् । विजयी भएपछि कर्मचारी संघका अध्यक्ष मधुमास पुनले सबै कर्मचारीलाई समेटेर अघि बढ्ने बताए । ‘चुनावपछिका दिनमा निगम र कर्मचारी हितमा हामी क्रियाशील हुनेछौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *