सेती अस्पतालले सुरु गर्‍यो डायलाइसिस सेवासँगै मानसिक उपचार सेवा

धनगढी: सेती प्रादेशिक अस्पतालमा डायलाइसिस र आइसियू सेवा थप गरिएको छ। अस्पतालमा असारदेखि मानसिक उपचार सेवा पनि सुरू भएको छ। बिरामीको निकै चाप रहने सेती अस्पतालले सिटी स्क्यान र एमआरआई जडान भइरहेको जनाएको छ।

अस्पतालले साधारणतर्फ १० शय्या थप गर्दै १५ शय्याको आइसियू र १२ शय्याको डायलाइसिस सेवा बिस्तार गरेको छ। अस्पतालमा एक गैरसरकारी संस्थामार्फत १० शय्याको डायलाइसिस सेवा सञ्चालनमा रहेकोमा अब अस्पतालमा २२ शय्या डायलाइसिसका लागि तयार भएका हुन्।

कोभिड अस्पतालमा रहेको २५ आइसियूसहित सेतीमा ३५ शय्याको आइसियू सेवा विस्तार भएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए। ‘सेतीमा डायलाइसिस सेवा विस्तार भएको छ। अस्पतालमा जनरलतर्फ १० शय्या आइसियू पनि थप गरेका छौँ,’ उनले भने, ‘डायलाइसिसमा आकस्मिक सेवा सेवाका लागि थप दुई मसिन राखेका छौँ। अब एचआइभी र हेपाटाइटिसका बिरामीका बिरामीलाई डायलाइसिस गर्न समस्या हुन्न।’
सेती प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि मानसिक रोगको बहिरङ्ग सेवा सुरू गरेको छ। अस्पतालले दुई शय्या मानसिक रोगका बिरामीको लागि छुट्याएको छ। यसैगरी सेती अस्पतालमा एमआरआई र सिटिस्क्यान जडान भइरहेको छ।

बिरामीको निकै चाप रहने भएकोले अस्पतालमा अपरान्ह ३ बजेपछि पनि बहिरङ्ग सेवा प्रदान गर्ने तयारी थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ‘सेतीमा जुनजुन बिरामीको चाप बढी हुन्छ त्यो विभागमा अतिरिक्त समयमा बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘साउन १ गतेदेखि अपराह्न ३ बजेपछि पनि ओपिडी सेवा सञ्चालन गर्ने अस्पतालको तयारी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *