काठमाडौं !नेकपा एमालेको मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट एक सय ४१ जना प्रतिनिधिहरु चयन भएका छन् । प्रदेशका १६ निर्वाचन क्षेत्र, पार्टीको प्रदेश कमिटी, मजदुर संगठन लगायतबाट यो संख्यामा प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
एमालेले हरेक क्षेत्रबाट यो पटक ४० वर्ष मुनीको युवा प्रतिनिधि अनिवार्य छनोट गर्ने व्यवस्था मिलाएको थियो । सोहीअनुसार सुदूरपश्चिमबाट १६ जना युवा प्रतिनिधि जाने भएका छन् । पार्टीले केन्द्रीय कमिटीमा १० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीति लिएपछि प्रतिनिधिमा निर्वाचित भएकाहरु स्वयंम केन्द्रीय कमिटीमा अटाउने गरि दौडधुप थालेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट समेत एमालेको केन्द्रीय सदस्य बन्न युवा नेताहरुले सक्रियता बढाएका छन् । खासगरि एमालेले अनेरास्ववियुमा उमेरहदको प्रावधान लागू गरेपछि संगठनको नेतृत्व लिन खोजेका नेताहरु बाहिरिनु परेको थियो । अहिले पार्टीको महाधिवेशन प्रतिनिधिमा उमेरहदका कारण अनेरास्ववियुको राजनीतिबाट बाहिरिएकाहरु आएका छन् ।
सुदूरपश्चिममा अनेरास्ववियुका तत्कालीन उपाध्यक्ष गोविन्द गिरी गृह जिल्ला बैतडीबाट युवा प्रतिनिधि बनेका छन् भने तत्कालीन महासचिव नरेश रोकाया बाजुराबाट प्रतिनिधिमा आएका छन् । उनीहरु दुवै जना पार्टीको युुवा केन्द्रीय सदस्यका लागि दौडधुुपमा जुुटेका छन् ।
विद्यार्थी राजनीतिमा समेत राम्रो पकट बनाएका उनीहरु सुदूरपश्चिम भूगोलबाट बलिया दाबेदारका रुपमा हेरिएका छन् । युवा केन्द्रीय सदस्यको दाबेदारका रुपमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि बनेका तीर्थ भट्टराई पनि अघि देखिएका छन् ।
प्रवास कमिटीमार्फत लामो समयदेखि पार्टी क्रियाशिल भट्टराई अहिले भूगोलमा फर्किएर संगठन विस्तारमा लागेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका उनी धनगढी उपमहानगर कमिटीका सह–इन्चार्ज पनि छन् ।
भट्टराई पार्टी संस्थापन पक्षधर भएकाले उनी अध्यक्ष ओलीको रोजाईमा पर्ने सम्भावना रहेको बताइन्छ । नेतृत्वको पक्षमा जुनसुकै बेलापनि खुलेर समर्थन जनाउने भट्टराईको देशब्यापी राम्रो पहिचान पनि छ। यद्यपी भट्टराई लगायतले अहिले नै आफ्नो दाबीबारे सार्वजनिक गरिसकेका छैनन् । उनीहरु भित्रभित्रै आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन् ।
