नेपालमा छैन ट्राफिक लाइटको मापदण्ड, बल्ल थालियो चाँजोपाँजो

काठमाडौं । नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् ।

विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।

महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउँछन्।

“कहिलेकाहीँ अगाडिको ठूलो गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना हुन्छ, टाढासम्म बत्ती देख्न नसक्दा तीव्र गतिमा आएका सवारी ‘लेन’ कारबाहीमा पर्ने गर्छन्” महाशाखा प्रमुख जोशीले भने, “त्यसैले सडकको अवस्थाअनुसार ट्राफिक बत्तीको उचाइ स्पष्ट हुन जरुरी छ ।”

“हरियो बत्ती बलिसकेको हुन्छ, बस, ट्रक र कन्टेनरलगायतका अग्ला सवारी चलेका हुँदैनन् तर पनि पछाडि रहेकालाई हतार भइसकेको हुन्छ,” उनले थपे, “यस्तो बेला दुर्घटना र जामको समस्या हुन्छ ।

टाढैबाट देखिने गरी बत्ती राख्ने विषयमा छलफल भइरहेको छ ।” ट्राफिक प्रहरी महाशाखाको प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनका क्रममा पनि ट्राफिक बत्तीको उचाइ नौदेखि २० फिटसम्म रहेको पाइएको छ । सडकको प्रकृतिअनुसार बत्ती राखेको अवस्था देखिँदैन । कहीँ छड्के तथा बाङ्गा छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *