काठमाडौंको कमलादीमा संचालनमा आयो २ अर्ब लगानीको स्काईवाक टावर

काठमाडौं ! काठमाडौंको कमलादीमा साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार स्काई वाक टावर शुक्रबारबाट औपचारिक रुपमा  सञ्चालनमा आएको छ ।
७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो ।

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए । ‘टावरको २५ औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ ।’ पोख्रेल थप्छन् ‘यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ । साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

साहसिक खेल खेल्न रुचाउनेहरूलाई थप मज्जा यस स्काई वाकले दिनेछ । स्काइ वाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत यहाँबाट सुन्दर देखिन्छ । करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरा लगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ । झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । यहाँ एकैपटक ५ सय मान्छे अट्नेछन् ।

टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको पोख्रेलले जानकारी दिए । उच्च गुणस्तरको यस सिसामा हिँड्न सुरक्षित रहेको उनको भनाइ छ । टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् ।

स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ । जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने छ । कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान शुल्क लाग्दैन । यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारीमा हामी रहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *