नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी

काठमाडौं ! नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तर निर्णय गर्दै उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको कम्पनीले जनाएको छ ।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने बुधबारदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकि छिन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छिन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिईन् भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

भ्रष्ट्राचार मुद्दा दर्ता भएको कम्पनीका प्रबन्ध निर्देशक निलम्बनमा परेसंगै कम्पनीले संगीता पहाडीलाई निमित्त प्रबन्ध निर्देशक चयन गरेको हो ।