नगर विकास कोष र सप्तकोशी शहरी खानेपानी उपभोक्ता संस्था बिच ऋण सम्झौता सम्पन्न

काठमाडौं ! एशियाली विकास बैंकको वित्तिय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत सप्तकोशी शहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र सप्तकोशी शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, सप्तरीका अध्यक्ष लेखनाथ घिमिरे बिच आज सोमबार ऋण सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालको महत्वपूर्ण उपस्थिती रहेको थियो । नगरपालिकाका प्रमुख ढकालले ऋण सम्झौतामा जमानतकर्ताकोरुपमा हस्ताक्षर गर्नुभएको छ ।

आयोजनाको ठेक्का कवोल अंक रु. ४६ करोड ८९ लाख ९४ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत रु. ३२ करोड ८२ लाख ९५ हजार, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत रु. ११ करोड ७२ लाख ४८ हजार साथै आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत रु.२ करोड ३४ लाख ४९ हजार व्यहोरिनेछ ।

सप्तकोशी नगरपालिकाको वडा नं.१ देखि ११ सम्मका घरधुरीका लागि सेवा समेटने उक्त आयोजनाले ५ वटा डिप बोरिङको माध्यमबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा ५ हजार घरधुरीका करीब ३० हजार जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा सप्तकोशी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्षबाट शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका आयोजना क्षेत्रका जनताका लागि आयोजनाको महत्व माथि प्रकाश पार्दै आयोजनालाई गुणस्तरीयरुपमा सयममा सम्पन्न हुनेतर्फ प्रतिवद्धता व्यक्त गर्नु भयो ।

सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका सप्तकोशी नगरपालिकामा नगर प्रमुख कृष्ण प्रसाद ढकालले नगरक्षेत्रका जनतालाई सुरक्षित र सर्वसुलभ खानेपानीको सेवा उपलब्ध गराउन यस खानेपानी आयोजनालाई सफल बनाउन नगरपालिकाको समेत जिम्मेवारी भएको बताउँदै निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख ढकालले नगरपालिकामा पूर्वाधारको विकासका लागि स्रोत कमी भएको वर्तमान समयमा नगर विकास कोषको यो ऋण सहयोग महत्व माथि प्रकाश पार्दै शहरी पूर्वाधारका अन्य आयोजनाका लागि पनि नगर विकास कोषको वित्तीय तथा प्राविधिक सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले अयोजनाको सफल कार्यान्वयनका लागि उपभोक्ता संस्था, नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा नगर विकास कोषको एकीकृत प्रयास हुनुपर्नेमा जोड दिनुभयो । साथै वहाँले नगरपालिका क्षेत्रमा बन्ने यस खानेपानी आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्न नगरपालिकाबाट नियमितरुपमा अनुगमन गर्नुपर्नेमा समेत जोड दिनुभयो । आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न भै सम्बन्धित आयोजना क्षेत्रका उपभोक्ताहरुलाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यकारी निर्देशक सापकोटाले यस खानेपानी तथा सरसफाई आयोजनासंगै सप्तकोशी नगरपालिकासंग शहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहरमैला व्यवस्थापन लगायतका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *