‘पाल्पा बसपार्क’ आयोजना निर्माणका लागि नगर विकास कोष र तानसेन नगरपालिकाबीच ऋण सम्झौता सम्पन्न

काठमाडौं ! ऐतिहासिक पर्यटकीय नगरी तानसेन नगरपालिकामा व्यवस्थित वसपार्क आयोजनाका लागि कोषको प्राविधिक सहयोगमा अध्ययन गरिएको “पाल्पा बसपार्क” आयोजना निर्माणका लागि आज शुक्रबार तानसेन नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही बीच रु. १७ करोड ४३ लाख १२ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ । “पाल्पा बसपार्क” आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु. २४ करोड ९० लाख १७ हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

तानसेन नगरपालिकाको वडा नं. ५ वनदेवीमा करिब १०० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्विनी प्रदेश र गण्डकी प्रदेशका स्याङ्गजा, अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देही लगायतका जिल्लाहरुबाट आवतजावत गरिने सवारी साधनहरुको व्यवस्थापनका लागि महत्वपूर्ण नमूना आयोजनाको रुपमा हेरिएको छ । यस आयोजना अन्तर्गत प्रथम चरणमा आगन्तुक प्रतिक्षालय, सपस्टल, चिल्ड्रन पार्क सहितको व्यवस्थित बसपार्क निर्माण हुनेछ भने दोस्रो चरणमा बसपार्कमा आर्थिक गतिवधीलाई प्रवर्द्धन गर्ने उद्देश्यले व्यावासायिक भवनको समेत निर्माण हुनेछ ।

उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट काली गण्डकी कोरीडरसंग समेत जोडिएको यस महत्वपूर्ण बसपार्कले नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीयरुपमा समयमै सम्पन्न गर्ने तर्फ नगरपालिकाको प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्झौता कार्यक्रमा तानेसेन नगरपालिकाका समाजसेवी ठाकुर प्रसाद गैरे र तानेसेन नगरपालका वडा नं. १ अध्यक्ष राम प्रसाद वस्यालको पनि महत्वपूर्ण उपस्थिती रहेको थियो ।

सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले व्यवस्थित बसपार्कको अभावमा सुन्दर नगरी तानसेनको शहरी सौन्दर्यतामा असर परिरहेको वर्तमान अवस्थामा व्यबस्थित बसपार्कको आयोजना अगाडि बढेकोमा खुशी व्यक्त गर्नुभयो । वहाँले आयोजना ऋण सम्झौताको चरणसम्म आई पुग्दा नगर विकास कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासंग सहकार्य भएको बताउदै आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । यो आयोजना लुम्विनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका सवारी साधनहरुको लागि व्यवस्थित गन्तव्यको रुपमा विकास भई व्यवस्थित शहरीकरणमा समेत महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।                                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *