पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका लागि ऋण सम्झौता सम्पन्न

काठमाडौं ! एशियाली विकास बैंकको वित्तिय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समिती, कञ्चनपुरका अध्यक्ष देवेन्द्र राज ढुङ्गाना बीच मिति २०७८ फाल्गुण २२ गते ऋण सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रममा भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टको महत्वपूर्ण उपस्थिती रहेको थियो । नगरप्रमुख विष्टले ऋण सम्झौतामा जमानतकर्ताकोरुपमा हस्ताक्षर गर्नुभएको थियो ।

आयोजनाको ठेक्का कवोल अंक रु. २१ करोड २८ लाख ४८ हजारमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत रु. १४ करोड ८९ लाख ९३ हजार, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत रु. ५ करोड ३२ लाख १२ हजार साथै आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत रु.१ करोड ६ लाख ४२ हजार व्यहोरिनेछ ।
भिमदत्त नगरपालिकाको वडा नं.६ र ७ मा सेवा समेटने उक्त आयोजनाबाट आयोजना निर्माण पश्चात सन् २०२३ मा २८५८ घरधुरीका १६४७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समिती का अध्यक्षबाट वर्षौ देखि शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका आयोजना क्षेत्रका जनताका लागि आयोजनाको महत्व माथि प्रकाश पार्दै आयोजनालाई गुणस्तरीयरुपमा सयममा सम्पन्न हुनेतर्फ प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नु भएका भिमदत्त नगरपालिकामा नगर प्रमुख सुरेन्द्र विष्टले सुरक्षित र सर्वसुलभ खानेपानीको उपलब्धता दिगो विकास लक्ष्यसंग समेत जोडिएको हुँदा आयोजनालाई सफल बनाउन नगरपालिकाबाट प्राविधिक, व्यवस्थापकिय लगायतका पक्षबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले राम्रा पूर्वाधारयुक्त शहरहरुमा जनसंख्याको चाप पनि बढ्दै गैरहेको वर्तमान परिपेक्षमा खानेपानीका ठूला आयोजनाले शहरीकरणमा महत्वूर्ण भूमिका खेल्ने हुँदा आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्ने र स्रोत विस्तारतर्फ समेत ध्यान केन्द्रित गर्नु पर्ने बताउनुभयो । आयोजनाको सफल कार्यान्वयनका लागि उपभोक्ता संस्था, नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा नगर विकास कोषको एकीकृत प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यकारी निर्देशक सापकोटाले भिमदत्त नगरपालिका र कोषको सहकार्य लामो समय देखि हुँदै आएको बताउदै भिमदत्त नगरपालिकासंग सार्वजनिक नीजि अवधारणामा भिमदत्त कंचन मल (व्यावसायिक भवन) आयोजना अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।                                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *