काठमाडौं ! नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा परेको रिटमा आज सोमबार प्रारम्भिक सुनुवाई हुने भएको छ । टिकटक प्रतिबन्ध विरुद्द सर्वोच्चमा अदालतमा १० वटा छुट्टा छुट्टै रिट दर्ता भएका छन्। गत शुक्रबार सर्वोच्चमा १० वटा रिट दर्ता भएका हुन् ।
सर्वोच्च अदालतले १० वटै रिटलाई लगाव मुद्दाको रुपमा समावेश गरेकोले सबै रिटको सुनुवाई एकै इजलाशमा हुने छ । सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको छ।
मङ्सिर २ गते शनिवार भएको, र मङ्सिर ३ गते छठ पर्वको सार्वजनिक विदा परेकोले यी रिट माथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाई हुने छ । कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।