एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी : महासचिव पोखरेल

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी भएको बताउनु भएको छ ।

बुधबार हेटौंडामा एमाले जिल्ला कमिटीको ११औँ बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी भएकाले समाजको आर्थिक र सामाजिक क्षेत्रको विकास गर्न अगाडि बढ्नुपर्ने बताउनु भयो ।

महासचिव पोखरेलले जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने गरी पार्टीको कामलाई समुदाय स्तरमा लैजान निर्देशन दिनुभयो । महासचिव पोखरेलले पार्टीको संगठन र कार्यकर्ता जनतासँग जोडिएर उहाँहरुको जीवनमा परिवर्तन ल्याउन सक्रियता देखाउनुपर्ने समेत बताउनु भयो ।

उहाँले एमाले सरकारमा हुँदा जनहितको पक्षमा महत्वपूर्ण काम सुरुवात गरेपनि अहिलेको सरकारले यसलाई कटौती गर्दै गइरहेको बताउनु भयो । अहिलेको सरकार सत्ता टिकाउन मात्र केन्द्रित रहँदा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन कुनै नयाँ कामलाई अघि सार्न नसकेको महासचिव पोखरेलले बताउनु भयो । महासचिव पोखरेलले एमाले कार्यकर्तालाई एमाले सरकारको पालोमा भएको राम्रा कामको खोजी र प्रचार गर्न निर्देशन दिनुभएको थियो ।

यसैगरी, उहाँले पार्टीले हालै सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प’ यात्रा सफल भएको समेत सुनाउनु भयो । महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सम्पन्न संकल्प यात्रालाई जनस्तरबाट स्वागत भएको र पार्टीमा जनलहर देखिएको बताउनु भयो । संकल्प यात्रा आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको महासचिव पोखरेलको भनाइ थियो ।

आजबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश कमिटी र जिल्ला कमिटीका गरी ४० जनाको सहभागिता रहेको छ ।

शुक्रबारसम्म जारी रहने प्रशिक्षक प्रशिक्षणमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्सवादी दृष्टिकोण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भू-राजनीतिक र परराष्ट्र सम्बन्ध, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईञ्चार्ज गुरु बरालले समृद्व नेपाल र सुखी नेपाली, पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले समृद्व मकवानपुर सम्बन्धी अवधारणा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले मिसन ८४ को कार्यभार, पोलिटव्यूरो सदस्य कैलाश ढुंगेलले पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, बालकृष्ण देउजाले सूचना प्रविधि प्रयोग र महत्व र प्रशिक्षण शैलीबारे प्रशिक्षण दिनुहुने एमाले मकवानपुरले जनाएको छ ।