उज्यालो भविष्यको खोजीका लागि समृद्धिका लागि संकल्प यात्रा : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता मौलाएको बताउनुभएको छ ।
एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको विषयमा सञ्चारकर्मीसँग आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाजमा जातीय अतिवाद र धार्मिक अतिवादलाई समेत उचाल्ने प्रयास भएको बताउनुभयो । नेपालको सांस्कृतिक मूल्य र मान्यता माथि समेत प्रहार गर्ने काम गरिएको पोखरेलले बताउनुभयो । गठबन्धन सरकारको चरम अकर्मण्यताको कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको उहाँको भनाइ छ ।
जनतामा निराशा बढिरहेको, युवाको विदेश पलायन बढिरहेको, समाजमा एक खालका अतिवादीहरूले टाउको उठाउने प्रयास गरिरहेको, राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई पश्चगमन तर्फ धकेल्ने प्रयास भइरहेको अवस्थामा मुलुकलाई फेरी आशा जगाउने र उज्यालो भविष्य तर्फ फर्काउने प्रयास स्वरूप एमाले समृद्धिको लागि संकल्प यात्रा सञ्चालन गरेको पोखरेलले बताउनुभयो । ‘उज्यालो भविष्यको खोजीमा झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा भनेर हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा हामीले यो यात्रा गरेको छौँ’, उहाँले भन्नुभयो ।
यात्राले मध्यपहाडी लोकमार्गको आसपासका जनतामा मात्र होइन सिङ्गो राष्ट्रमा नै सकारात्मक प्रभाव पारेको पोखरेलले बताउनुभयो । उहाँले जनतामा व्याप्त निराशलाई आशामा बदल्न यात्रा सफल भएको बताउनुभयो ।
मुलुकलाई आर्थिक र सामाजिक विकास दिशामा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यसैको लागि संकल्प यात्रा आयोजना गरिएको उहाँले बताउनुभयो । मुलुकलाई सही बाटोमा अघि बढाउनको लागि यात्रा निक्कै फलदायी भएको पोखरेलले दाबी गर्नुभयो ।