पहाडको समग्र विकास यात्रा अभियानको मुख्य लक्ष्यः महासचिव पोखरेल

भोजपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले  झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा पहाडी क्षेत्रको समृद्धिलाई लक्ष्य गरी शुरू गरिएको बताउनुभएको छ ।
भोजपुरको टक्सारमा यात्राको १४औं दिन बुधबार आयोजित सन्देश सभामा बोल्दै महासचिव पोखरेलले यात्राको मुख्य लक्ष्य पहाडको समग्र विकास भएको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– हामीले यो यात्रा पुष्पलाल मध्यपहाडी लोकमार्गलाई केन्द्रबिन्दुमा राखेर पहाडी क्षेत्रको समग्र विकासलाई मुख्य लक्ष्य बनाएर आरम्भ गरेका हौँ ।
एमालेको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रालाई सम्पूर्ण देशवासीले आफ्नो ठानी यात्रामा सामेल भएको महासचिव पोखरेलले बताउनुभयो । यात्रामा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।


यात्राको उद्देश्य नागरिकसँगको सम्बन्ध थप सुदृढ गर्ने रहेको महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो– स्थानीय तहमा जनतासँगको सम्बन्धलाई जीवन्त बनाउने र यसका सन्देशलाई राष्ट्रिय रूपमा सम्प्रेषण गरेर मुलुकको विकास र समृद्धिको लागि राष्ट्रिय शक्तिको विकास गर्ने योजनाका साथ यात्रा आरम्भ गरेका हौँ ।
यात्राको क्रममा नेपाली समाजको बहुसाँस्कृतिक विशेषतालाई थप बलियो बनाउनका लागि प्रयत्न गर्ने बताउँदै महासचिव पोखरेलले एमाले सबै जातजाति, भाषा र समुदायको संरक्षण गर्दै अघि बढ्ने पार्टी  भएको स्पष्ट पार्नुभयो ।