काठमाडौं ! नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले आफू नभई सरकार असक्षम भएको बताएका छन् । जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले ८ असोजमा भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो । सोमबार सरकारको पत्र बुझेपछि निवर्तमान संयोजक भण्डारीले कानूनी सल्लाह गरेर अघि बढ्ने बताए ।
आफ्नो नेतृत्वको तदर्थ समितिले जिम्मेवारी पूरा गर्न नसकेको सरकारको दाबी उनले अस्वीकार गरे । ‘मैले होइन, सरकारले जिम्मेवारी पूरा गरेन,’ भण्डारीले भने, ‘सरकारले हामीलाई ऐन दिनुपर्थ्यो, त्यसको ६ महिनाभित्र हामीले निर्वाचन गर्नुपर्थ्यो । तर सरकार असक्षम छ, किनकि सरकारले ऐन दिन सकेन ।’ स्काउटको ऐन अहिले मन्त्रिपरिषद्को विधायन समितिमा अड्किरहेको उनले बताए ।