आधुनिक शिक्षामा जोड दिँदै पाँचथरको जेठो विद्यालय

पाँचथर । विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिँदै विद्यार्थी सङ्ख्या बढाइरहेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित यो विद्यालय पूर्वी पहाडकै पुरानो हो । विसं २००३ मा यस क्षेत्रका सामाजिक अगुवा जयनारायण रिजालले मार्गदेवी आधारभूत विद्यालयका नाममा स्थापना गरेको यो विद्यालयले २००५ सालमा आधार शिक्षा ग्वोश्वाराबाट सञ्चालन अनुमति पाएको थियो । एक समय पाँचथरसहित इलाम, ताप्लेजुङ र पूर्वी तेह्रथुमका विद्यार्थीले अध्ययन गरेको यो विद्यालयले हाल आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्नुका साथै १८ महिने सिभिल सवओभरसियर कक्षा सञ्चालन गरी विद्यार्थीलाई आकर्षित  गरिरहेको छ ।

विद्यालयमा हाल चार सय ५९ विद्यार्थी अध्ययनरत छन् । नजिकै अन्य विद्यालय रहेका कारण यो सङ्ख्या बढी नै हो । विद्यार्थी सङ्ख्या कम हुँदै जाने र अभिभावकको माग अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनुपर्ने भएपछि विद्यालयले दुई पूर्वप्राथमिक कक्षा समेत सञ्चालन गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिए । विद्यालयले कक्षा ५ सम्मको अध्यापनलाई पूर्ण अङ्ग्रेजी माध्यम बनाएको छ । कक्षा ८ सम्म पूर्ण अङ्ग्रेजी माध्यम बनाउन खोजिए पनि नजिकैका आधारभूत विद्यालयमा कक्षा ५ पूरा गरी कक्षा ६ मा नयाँ विद्यार्थी आउने हुनाले कक्षा ६, ७ र ८ मा गणित, विज्ञान र स्वास्थ्य विषय अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको आचार्यले बताए ।

आधारभूत तहलाई अङ्ग्रेजी माध्यममा सञ्चालन गर्न थालिएपछि विद्यार्थीको सङ्ख्या बढ्दै गएको आचार्यको भनाइ छ । भारत र भुटानबाट बोलाइएका शिक्षकले अङ्ग्रेजी प्रभावकारी अध्यापन गराउने अभिभावकको भनाइपछि विद्यालयले दुई विदेशी शिक्षकलाई निजी स्रोतबाट तलब दिएर राखेको छ । “अहिले अभिभावकको चासो बढ्न थालेको छ । विद्यार्थी सङ्ख्या बढ्दै गएको छ”, प्रअ आचार्यले भने ।

यस विद्यालयमा २०६९ सालदेखि सिभिल सब ओभरसियरको कक्षा सञ्चालन भइरहेको छ । चालीस जनाको कोटा रहेको प्राविधिक धारमा ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्छन् । यद्यपि कोटाअनुसार कुनै पनि वर्ष विद्यार्थी भर्ना भएका छैनन् । “अहिलेसम्म करिब दुई सय विद्यार्थीले प्राविधिक शिक्षा पाइसके । सबैजना रोजगार बनेको भेट्टाएका छौँ”, प्रअ आचार्यले भने, “तर कुनै पनि वर्ष पूरै कोटामा अध्ययन भएको छैन ।”रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *