सर्वोच्चले दियो सरकारलाई झड्का : ‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णय भयो खारेज

काठमाडौँ ! फागुन १ गते ‘जनयुद्ध दिवस’का अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७९ माघ २९ गते जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थिए।

सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जनयुद्ध दिवसमा बिदा दिने निर्णय संविधानविपरीत रहेको ठहर गरेको हो।