११ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्दै

अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश जवरा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरूले अहिले साढे ११ बजेपछि प्रधानन्यायाधीशलाई भेट्ने कार्यसूची रहेको छ ।

न्यायालयमा प्रधानन्यायाधीशका कारण बेथिति बढेको तथा कार्यपालिकामा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबारको पूर्ण बैठक र इजलास बहिष्कार गरेका थिए ।

सोही विषयलाई लिएर न्यायाधीशहरू र प्रधानन्यायाधीशबीच छलफल हुन लागेको बुझिएको छ । यसअघि सोमबार नै नेपाल बार एसोसिएसन र सर्वोच्च बारले पनि प्रधानन्यायाधीशलाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको थियो ।

चार पूर्वप्रधानन्यायाधीशहरुले समेत अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

जबरालाई संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेको छ ।

सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको चर्को दबाब छ ।

यसैबीच प्रधानन्यायाधीश जबराले भने कसैको दबाबमा आएर पदबाट राजीनामा नदिने बताएका छन् । बीबीसी न्यूज नेपालीका शरद केसीसँग कुरा गर्दै प्रधानन्यायाधीश जबराले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् ।

‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो,’ प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *