जनार्दन शर्मा प्रकरण : छानबिन समितिको बैठक बस्दै

काठमाडौंँ । बजेट प्रकरणबारे आज (बिहीबार) संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सिसिटिभी फुटेजमा नदेखिएपछि अर्थमन्त्रीलाई ‘क्लिन चिट’ दिन संसदीय छानबिन समितिमा दबाब परेको छ । संसदीय छानबिन विशेष समितिले बुधबारदेखि लेख्न लागेको प्रतिवेदनमा अर्थमन्त्रीलाई दोषी देखाउने वा नदेखाउने भन्ने विषयमा विवाद भएपछि प्रतिवेदन लेखन कार्य प्रभावित भएको छ । बिहीबार १२ बजेका लागि समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *