काठमाडौं ! सङ्घीय संसद्मातहतका चार वटा समितिहरूको बैठक आज विभिन्न समयमा बस्दैछन्। विधेयकमाथि दफावार छलफलदेखि राष्ट्रिय गौरवका आयोजनासम्मका विविध विषयमा समितिहरूले गम्भीर छलफल गर्ने कार्यसूची तय गरिएको छ।
सुरुमा बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक समितिको कार्यकक्षमा बस्दैछ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन प्रगति, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिको अपेक्षामाथि छलफल गरिनेछ।
त्यसपछिको बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हुनेछ, जुन दिउँसो १२ः३० बजे समितिको कार्यकक्षमै बस्नेछ। उक्त बैठकमा “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२” का विषयमा सरोकारवाला मन्त्रालय, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, कानुन र वन क्षेत्रका विज्ञहरूसँग विस्तृत छलफल गरिने कार्यक्रम तय भएको छ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा “जलस्रोत विधेयक, २०८१” माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। समितिले विधेयकका दफा–दफा छुट्टाछुट्टै विषयमा समीक्षा गर्दै सुझाव पेश गर्ने तयारी गरेको छ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः३० बजे समितिको कार्यकक्षमा हुनेछ। बैठकमा “मिडिया काउन्सिल विधेयक, २०८०” माथि दफावार छलफल गरिनेछ। सञ्चार क्षेत्रको नियमन र पत्रकार आचारसंहिता जस्ता संवेदनशील विषयमा समिति गम्भीर ढङ्गले छलफलमा उत्रने तयारीमा रहेको छ।
चारवटै समितिका बैठकहरू विधेयकको गुणस्तर सुधार, कार्यान्वयन अवस्था र नीति निर्माण प्रक्रियालाई सुदृढ तुल्याउने उद्देश्यले बस्न लागेका हुन्।
