काठमाडौं ! सभामुख देवराज घिमिरेले आतंकवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरेका छन्।
नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग बुधबार आफ्नै कार्यकक्षमा भएको भेटमा उनले निर्दोष जोशीको रिहाइका निम्ति अनुरोध गरेका हुन्।
राजदूत गोडेरले जोशीलगायत अन्य देशका बन्धकलाई मुक्त गर्ने प्रयास जारी रहेको बताउँदै जोशी हमासको कब्जामा सकुशल रहेको सूचना आफूलाई प्राप्त भएको जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ।
त्यस अवसरमा नेपाल-इजरायल सम्बन्धका विविध पक्षका साथै कृषि क्षेत्रको विकासबारे पनि छलफल भएको थियो।
गत असोज २० गते हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियोभने जोशीलाई हमासले बन्धक बनाएको इजरायली सेनाले बताउँदै आएको छ।
उक्त दिनपछि इजरायलले गाजापट्टीमा जारी राखेको आतंकवादीविरुद्धको सैन्य कारबाहीमा २२ हजार एक सय ८५ जनाको ज्यान गएको तथा ५७ हजार घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।