एमाले सचिव भट्टको सभामुखमाथि गम्भीर आरोप : संसदमा सभामुख कुनै दलको कारिन्दा बने

काठमाडौं ! नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेर कुनै एक दलको सेवाग्राही भएको बताउनु भयो ।

काठमाडौंबाट आफ्नो गृहजिल्ला प्रस्थान गर्नु भएका भट्टको स्वागतमा प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले सापकोटाले सभामुखका रुपमा नभई कुनै पार्टीको दूतको रुपमा काम गरेका कारण संसदको गतिरोध अन्त्य हुन नसकेको बताउनु भयो ।

‘नेकपा एमालेले उठाएका माग सम्बोधन गरिनुपर्छ भनेर हामीले संसदमा विरोध जारी राखेका छौं,’ सचिव भट्टले भन्नुभयो, ‘तर सभामुुखले सभामुखको रुपमा नभएर पार्टीको विशेष दूत बनेर काम गरिराखेका छन् । संसदीय मर्यादा कसरी कायम राख्ने ? कसरी चलाउने भन्ने ज्ञान समेत उहाँमा छैन ।’

सचिव भट्ट लगायत प्रदेशका नेताहरु सबै हाल धनगढी प्रस्थान गरिसक्नु भएको छ। एमाले सुदुरपश्चिम प्रदेश कमिटिको आज हुने बैठकमा सहभागी हुन उहाँहरु धनगढी जानुभएको हो। बैठक लगत्तै एमालेले जिल्ला कमिटी र प्रदेश कमिटिहरुको अधिवेशनको लागि तयारी गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *