महिलाको सहभागिता र सक्रियताको प्रचार हुन सकेन : सभामुख घिमिरे

काठमाडौं ! प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले संसद र अन्य संघ-संस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढीरहेको भए पनि सञ्चारमाध्यमहरुले सो अनुसार प्रचारप्रसार नगरेको बताउनुभयो । उहाँले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढङ्गको सञ्चारमाध्यमहरुले बाहिर प्रचार गर्न सकेको छैन । किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढङ्गकै हेर्ने हो भने पनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शून्य समयमा होस् वा विशेष समयमा होस् सहभागिता राम्रो छ । तर त्यो खालको प्रचार-प्रसारहरु छैन ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताउनुभयो । संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमहरुको उपस्थिति नरहेको उहाँको भनाइ छ । सभामुख घिमिरेले संसदले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको उल्लेख गर्नुभयो । सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले संसदको विषयवस्तुलाई महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्तै बढी ध्यान दिने गरेको गुनासो गर्नुभयो ।

‘महिलासँग सक्रियतालाई अघि बढाउनका लागि विभिन्न माध्यम र तरिकाहरु अपनाउँदै अहिले सचिवालयले पनि महिला संसदमा उनिहरुको अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी परे बनाउने र नभए पनि उनीहरुलाई अभिमुखीकरण दिने र उहाँहरुलाई सञ्चारमाध्यमा मैत्रीपूर्ण बनाउन के सहयोग गर्नुपर्छ ? भनेर हामीले योजना बनाएका छौँ’ उहाँले भन्नुभयो, ‘मिडियाहरुको आकर्षण अहिले खास खास नेताहरु बोल्ने दिन छ भने सञ्चारमाध्यकको  उपस्थिति देखिन्छ। नभए करिव शून्य हुन्छ । तर, सक्रियता कम छ । महिलाहरुको सहभागिता कम छ । महिलाहरुको सहभागिता र सक्रियता बढाउनका लागि हामी काम गर्नेछौँ । अहिले सञ्चारमाध्यकहरुले विषयवस्तुमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताउनुभयो । उहाँले संसद सुसञ्चालन गर्ने कुरामा आफू स्पष्ट रहेको औंल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *