एमाले नेता घिमिरे सत्ता गठबन्धनबाट सभामुखको उम्मेदवार हुने संभावना

काठमाडौं ! सत्तारुढ दल नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

एमाले स्रोतका अनुसार झापा २ बाट निर्वाचित सांसद घिमिरे सत्ता गठबन्धनका तर्फबाट सभामुखको उम्मेदवार हुने लगभग पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै गृहजिल्लाका सांसद घिमिरेलाई सभामुख बनाउने संकेत गरेपछि सभामुखका अरु आकांक्षी पछि हटेका छन् । एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र विद्या भट्टराई सभामुखका आकांक्षी छन् ।

सभामुखका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नै एमालेले सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख एमालेले पाउनेछ । तर, सत्ता गठबन्धनले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने औपचारिक रूपमा टुंगो भने लगाइसकेको छैन ।

एमाले अध्यक्ष ओलीले सांसद घिमिरेलाई नागरिकता र दुईवटा फोटो लिएर आउन भनेकाले उनी नै सभामुखको उम्मेदवार हुने लगभग पक्काजस्तै छ । सांसद घिमिरेले पनि आफू सभामुख बन्ने दाबी गरेका छन् । ‘मसँग नागरिकता र फोटो मागिएकाले सभामुखको उम्मेदवार म नै हुन्छ जस्तो लागेको छ,’उनले भने, ‘सभामुखका लागि योग्य छु  । जिम्मेवारी पाए निष्पक्ष ढंगले निर्वाह गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *