वैरो संघले भन्यो – कर्मचारीले भिसा हेर्न नजान्दा कुवेत जान लागेका ११७ जनालाई फिर्ता गरियो

काठमाडौं ! बुधबार र बिहीबार कुवेत जान लागेका ११७ नेपालीलाई अध्यागमन कार्यालयले विमानस्थालबाट फिर्ता गरेको विषयमा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गरेर अध्यागमन कार्यालयका कर्मचारीले भिसा हेर्न नजान्दा कुवेत जान लागेका ११७ जना श्रमिकलाई रोकेको दावी गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र भन्डारीले विभागका नयाँ कर्मचारीले भिसा हेर्न नजानेको र केही कर्मचारीले रोक्ने मनसायले नै कुवेत जान सबै प्रक्रिया पूरा गरेर विमानस्थल पुगेका श्रमिकलाई रोकेको आरोप लगाए ।

‘हामीले म्यानपावर कम्पनीको गल्ती देखिएको भए देखाउन भनेका छौँ, तर हाम्रो गल्ती देखिएको छैन’ उनले भने, ‘शंका लागेको भरमा घरबाट खादा र माल लगाएर आएका श्रमिकलाई रोक्ने काम गरियो, हामी अध्यागमनका कर्मचारीसँग क्षतिपूर्ति माग्छौँ ।’

कुवेत जान लागेका श्रमिकहरुलाई कम्पनीहरुले प्रति टिकट ६० हजार रुपैयाँ तिरेर टिकट काटिदिएको तर, श्रमिक रोकिएपछि जहाज श्रमिक नबोकी कुवेत गएकाले त्यो पैसा अध्यागमन वा कर्मचारीले भर्पाइ दिनुपर्ने म्यानपावर व्यवसायीको माग छ ।

संघका महासचिव मेगनाथ भुर्तेलले भिसा र टिकट प्रमाणित गरेर पठाउँदा पनि श्रमिकहरुलाई एयरपोर्टमा अनावश्यक दुःख दिने र रोक्ने काम गरिएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *