झापाका तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

काठमाडौँ — झापामा १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइका सङ्क्रमित आउनुभयो । अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालक स्वास्थ्य सहायक कलम निरौलाले भने, एक हप्ता जति भयो, शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका मानिस आउन थाल्नुभएको । बिहीबार मात्र १०० लाई औषधि दिएर पठाएँ । उनले दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आउनुभएका सोही रोगका संक्रमितहरुलाई एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए ।

उनका अनुसार सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको छ । उनले स्थानीय मेडिकलहरुमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको बताए । विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका निरौलाले पहिलोपटक यति धेरै मात्रमा एन्टिभाइरल क्रिम बिक्री गरेकोसमेत जानकारी दिए । उनले एक हप्ताको अन्तरालमा झण्डै ४०० बढीलाई सो क्रिम बिक्री गरेको जानकारी दिए ।

उनले भने, औषधि नै सकियो, विर्तामोडको मिरिका फार्मेसीबाट थप मगाएको छु । मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख लेखनाथ खतिवडाले शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो भएका धेरै नै बिरामी आइरहेको बताए । उनीका अनुसार हाल बालबच्चा र ज्येष्ठ नागरिकहरुमा सो समस्या बढी देखिएको छ । नाइरोवी हो होइन हामीलाई थाहा छैन, आधिकारिक रुपमा पुष्टि भएको छैन । उनले भने, डढुवा घाउको सङ्क्रमण बढेको छ । गर्मी र वर्षाको समयमा यस्ता समस्या लिएर आउने हुन्छन् तर विगतको भन्दा चाहिँ बढेको छ । स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्यचौकीमा नाइरोवीका बिरामी नआएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *