मोटर पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ । मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ । पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिए ।

तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिराको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न उनले आग्रह गरे । हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम–इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ ।

प्रहरीका अनुसार इखोलामा रहेको बिबिएसल पुलसमेत पहिराले बगाएको छ । उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ । दोभान वारि–पारि हुने मोटरेबल पुल नजिक गएको पहिराले सडक अवरुद्ध गरेपछि आठराई–क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्कबिच्छेद भएको डिएसपी लिम्बूले जानकारी दिए ।

यस्तै सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिराले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ ।

विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिराले क्षति पुगेपछि गाउँघर अन्धकार बनेका छन् । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि केही सामान्य भएको छ । गए रातिको वर्षा, बाढी र पहिराले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *