कलंकीदेखि बल्खुसम्मको सडकमा भ्रष्टाचारको आशंकामा अख्तियारले सुरु गर्‍यो छानबिन

काठमाडौं। राम्रो संचालन भइरहेको सडक भत्काएर नयाँ कालोपत्रे गर्न लागेको भन्दै चौतर्फी आलोचना भएपछि कलंकीदेखि बल्खुसम्मको सडक निर्माणमा अख्तियार अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

सडक विभाग र काठमाडौं सडक डिभिजनले चक्रपथ विस्तार आयोजनमा पर्ने कलंकी-बल्खु सडक पारिपट्टिको सडक निर्माणमा ध्यान दिनुको सट्टा वारि राम्रो संचालन भइरहेको सडक भने भत्काएर फेरि बनाउन ठेक्का लगाएको थियो। यसमा कमिसनको खेल भएको देखिएपछि अख्तियारले छानबिन सुरु गरेको हो।

अहिले अख्तियारले सडक डिभिजन, विभाग र चक्रपथ आयोजनालाई पत्र काट्दै यसमा छानबिन गरिने बताएको छ। छानबिन नसकिएसम्मका लागि उक्त सडक निर्माणमा रोक लगाएको डिभिजन कार्यलयका प्रमुख नारायणप्रसाद निहुरेले बताए।

विभागले राम्रो सडकलाई भत्काएर यसरी निर्माण गर्न हतार गर्नुलाई भ्रष्टाचारको अशंका गरिएको थियो। डिभिजनले पनि यसरी चारैतिर दबाब आउन थालेपछि कालोपत्रे उक्काएपछि सडक निर्माण प्रक्रिया रोकिएको जनाएको छ।

निहुरेले भने अहिले अख्तियारले के भएको हो भन्ने बारे छानविन गर्न नमुना संकलन गरेर लगेको बताए। उनले यसमा आफूहरुको कुनै पनि गल्ती नभएको दाबी गर्छन्। अहिले यस विषयमा विभाग र मन्त्रालयमा छलफल चलिरहेको पनि उनको भनाइ छ।

निहुरेका अनुसार अहिले उक्त सडकको काम स्थगित गरिएको छ। अख्तियारले छानबिन गरेपछि के हो भन्ने कुराको निचोड हुने र त्यही अनुसार निर्माण कार्य अगाडि बढ्ने/नबढ्ने टुंगो हुने उनले बताए।

यसैगरी, चक्रपथ विस्तार आयोजनाकी इन्जिनियर सुमित्रा अधिकारीले पनि यो सडकको विषयमा अख्तियारले पत्र काटेको बताइन्।

सोही बमोजिम सरकारले पनि यसमा भइरहेको अन्य कामहरु रोकेर राखेको छ। अहिले उक्त सडक कालोपत्रे उप्काएर रोलरले थिचेर मात्र राखिएको छ।

राम्रो सडक भत्काएर बनाउन हतार गर्ने र निर्माणाधिन सडक भने बनाउन ताकेता नगरेको देखेपछि आम नागरिकहरुले यसमा गम्भीर रुपमा चासो देखाएका थिए। त्यही अनुसार अन्य सबै निकायले पनि यो सडकमा भएका समस्याको निरिक्षण गरेका थिए।

कलंकीदेखि बल्खुतर्फ आउँदा देब्रेतर्फ सर्भिस लेनको १.७ किलोमिटर खण्ड चक्रपथ सुधार आयोजनाले ३४ करोड १७ लाख ७० हजार रुपैयाँ खर्चेर निर्माण गरेको थियो।

तर, तीन वर्षमै उक्त सडकको ‘बेस स्ट्रक्चर फेलियर’ भएको तथा आवधिक मर्मत गर्नुपर्ने कारण देखाएर १३ करोड ८२ लाख रुपैयाँमा नयाँ ठेक्का लगाई काम समेत शुरू भइसकेको थियो। उक्त ठेक्का वर्ल्डवाइड पीआर एसके जेभीले पाएको हो। यसरी सबैतिरबाट दबाब आएपछि निर्माण कम्पनीले समेत काम गर्न अनिच्छुक भएको डिभिजनले जनाएको छ।

पहिला सडक निर्माण गर्दा कसले डिजाइन गरेको थियो भन्ने कुराको अभिलेख चक्रपथ सुधार आयोजनाको कार्यालयमा छैन। चिनियाँ कन्स्ट्रक्सन कम्पनीले चक्रपथ बनाउनका लागि जुन डिजाइन गरेको थियो, सोही डिजाइनअनुसार काम भएको हुन सक्ने चक्रपथ विस्तार आयोजनाको भनाइ छ।

१.७ किलोमिटर सडक निर्माण गर्न १३ करोड ८२ लाख छुट्याइएको छ। नेपालमा सडक बनाउन प्रतिकिमि ४ करोड रुपैयाँ मात्र खर्च लाग्ने गरेको छ। अन्डर पास कल्भर्टहरु निर्माण गर्नुपर्ने सडकमा मात्र अलि धेरै खर्च लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *