दिक्तेल–दुम्ली सडकखण्डमा ढल फुट्दा आवतजावतमा समस्या

खोटाङ । खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण गरिएको ढल फुट्दा सवारीसाधन वारपार गर्न र पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् ।

करिब पाँच मिटर चौडाइ ढलान गरिएको उक्त सडकखण्डमा निर्माण गरिएको ढलको करिब तीन मिटरजति भाग फुटेर दुर्घटनाग्रस्त क्षेत्र बनेको पाइएको छ । बीच सडकमा ढल फुटेपछि गाडीको टायर राखेर सवारीसाधान वारपार गराउने गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।

ढल फुटेर जोखिमयुक्त क्षेत्र बनेको सडकमा पशुचौपाया हिँडडुल गराउँदा धेरैपटक खुट्टा अड्किएर चोटपटकसमेत लागेको स्थानीय बासिन्दाले बताएका छन् । विशेषगरी घरवरपर खेल्ने बालबालिका तथा विद्यालय आवतजावत गर्ने साना उमेरका विद्यार्थीलाई उक्त स्थानमा जोगाउन कठिन भएको स्थानीय हीरालाल रिजालले बताउनुभयो ।

ढल निर्माण गर्ने ठेकेदारदेखि प्राविधिकसम्मको कमजोरीका कारण निर्माण भएको दुई वर्षमै ढल फुटेको स्थानीय बासिन्दाको आरोप छ । केही समयअघि ढल फुटेर सडकमुनि लगाइएको कोदोबालीमा क्षति पुगेको स्थानीय रमेशप्रसाद आचार्यले गुनासो गर्नुभयो ।

ढलान गरिएको उक्त सडकखण्डमा खेतीयोग्य जमिनतर्फ पानी बग्ने गरी ढल निर्माण गरिएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका थिए । ठेकेदार कम्पनीले धान, कोदोलगायतका अन्नबाली उब्जाउ हुने ठाउँमा ढलबाट बग्ने पानी लगाएको जनाउँदै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् ।

ढल फुट्दा आफूहरूले सास्ती खेप्नुपरेको गुनासो स्थानीय बासिन्दाले गरेपछि शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले स्थलगत अनुगमनसमेत गर्नुभएको छ । अनुगमनका क्रममा स्थानीय बासिन्दाले उठाएको गुनासोलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले आवश्यक प्रक्रिया एवं बजेट व्यवस्थापन गरेर चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

ठेकेदार कम्पनीले दिक्तेल–दुम्ली सडकखण्डमा ढल निर्माण गर्दा कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्डविपरीत काम गरेकाले समस्या भएको देखिएको नगरप्रमुख भट्टराईले बताउनुभएको छ । “जता उकालो सडक छ, उतै ढलको निकास लगेको देखिन्छ”, उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीले आफ्नो फाइदाका लागि कमसल सामग्री प्रयोग गर्नुका साथै मापदण्डविपरीत काम गरेको देखिन्छ । मापदण्डविपरीत काम गर्ने ठेकेदार कम्पनीलाई आवश्यक कारबाही गरिनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *