नारायणगढ–बुटवल सडक निर्माणकार्यले लिएन आवश्यक गति

काठमाडौँ । साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउनुहुन्छ ।

राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुवेदीको भनाइ छ ।

कावासोतीबाट नारायणगढसम्मको ३२ किलोमिटर खण्ड पार गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको उहाँले बताउनुभयो । सडकमा जमेको पानीले निकास नपाउँदा राजमार्गमा ठूला–ठूला खाल्डा बनेका हुन् ।

“सडकको विभिन्न ठाउँमा डाइभर्सन गराएर पुल निर्माणको काम भइरहेकाले रात्रिकालीन यात्रा झन् कष्टकर बनेको छ”, सुवेदीले भन्नुभयो ।

गैँडाकोट–८ का व्यवसायी शालिकराम सापकोटाले सडक बनिसक्न ढिला हुँदा यात्रुको बिजोग भएको बताउनुभयो । देशकै मुख्य राजमार्गको रूपमा रहेको यो सडकको दुरवस्था हुँदासमेत कसैलाई मतलब नै नभएको उहाँको भनाइ छ । “व्यावसायिक कामका लागि कहिले नारायणगढ त कहिले बुटवल जानुपर्छ”, सापकोटाले भन्नुभयो, “आफ्नै गाडीमा हिँड्यो भने बाटोका कारण कहाँ पुगेर बिग्रिने हो थाहै हुँदैन, सार्वजनिक सवारीसाधन चढौँ भने सामान्य अवस्थामा भन्दा चार गुणा बढी समय लाग्छ ।”

सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकामा अहिले सात घण्टा लाग्ने गरेको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० क्षेत्र नं १ का सङ्घीय सांसद तिलक महतले बताउनुभयो । आफूले यसबारे बारम्बार संसद्मा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको महतको भनाइ छ ।

पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघिदेखि नै सडकमा हुने खाल्डाखुल्डीका कारण समस्या हुँदै आएको थियो ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट पुल्चोकबाट बुटवलसम्मको करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको प्रायः सबै ठाउँमा खाल्डाखुल्डी छन् । यस खण्डमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही तीनवटै जिल्लामा लगभग पूरै सडकभरि खाल्डाखुल्डी मात्रै देखिन्छन् । चार लेनमा विस्तार भइरहेको राजमार्गका ठाउँठाउँमा बनेका ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्को पानी जमेर यात्रा कष्टकर बनेको यात्रु तथा चालकहरु बताउँछन् ।

नारायणगढबाट बुटवलसम्म साढे एक घण्टामा पुग्ने गरी सडक विस्तार भइरहेको भए पनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रामा कठिनाइ हुने गरेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ४१ महिनामा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *