बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द हुने

म्याग्दी ।  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो ।

बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *