पूर्वी नवलपरासी- वर्षाको कारण बाटो सडक हिलो र चिप्लो हुँदा पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।
गए राती देखिको वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो भएका कारण सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पूर्वी नवलपरासीको दाउन्ने क्षेत्रमा वर्षाको कारण सवारी साधन चिप्लिने समस्या भएको हुँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बिच सडकमा अलपत्र परेका छन् ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा आगामी वैशाख ३१ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ ।