म्याग्दी । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुर्याएको थियो । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको वारागुुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।
“करिब २० दिन डोजर परिचालन गरेर खोलालाई प्राकृतिकरूपमा बगेको धारमा फर्र्काइएको छ,” उनले भने, “क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएका छौं ।” बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको अध्यक्ष गुरुङले बताए ।
खोला वारपार गर्न काठको प्रयोग गरेर अस्थायी पुल बनाइएको छ । बस्तीमा पसेको बाढीलाई पन्छाउन डोजर परिचालन गरिएको छ । घरभित्र पसेको लेदो फाल्ने र सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको स्थानीयवासी धारा गुरुङले बताए ।
स्थानीयवासीहरूले श्रमदान गरेर कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल बनाइएको छ । पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ । कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम–कोरला सडकमा साना सवारी साधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भएको छ ।
भवनमा बाढी पसेपछि बन्द भएको कागबेनीको जनशान्ति माविको पठनपाठन दश दिनपछि सञ्चालन आइसकेको शिक्षक मनवीर किसानले बताए । खानेपानी र विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ । कागबेनीको बाढी व्यवस्थापन गर्न छिमेकी गाउँपालिका, स्थानीयवासी, सुरक्षा निकायले सघाएका गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण सङ्कलन गरिएको थियो ।
व्यक्तिका ५० वटा घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । उक्त बाढीबाट २९ वटा घरमा पूर्ण क्षति पुगेको छ । नौवटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका छन् । रासस