चीनले दियो रास्वपालाई बधाई

सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले पार्टीलाई प्राप्त पत्रबारे जानकारी दिएका छन्।

उनका अनुसार पत्रमार्फत सिपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा व्यक्त गरिएको छ।

सो पत्रमा दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

सिपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएको रास्वपाका नेता खनालले जानकारी दिए।

रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ।