रास्वपाका सांसदलाई अभिमुखीकरण आजबाट सुरु हुँदै

काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि आज (मंगलबार) देखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ।

ललितपुरकाे ग्वार्कोस्थित रोयल टुलिप होटलमा दुई दिनसम्म हुने अभिमुखीकरण कार्यक्रममा रास्वपाबाट प्रत्यक्षमा निर्वाचित १२५ र समानुपातितर्फ निर्वाचित ५७ गरी १ सय ८२ सांसद सहभागी हुने छन्।

रास्वपाले सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिने प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसद सहभागी हुने छन्।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पहिलो दिनको कार्यक्रम पार्टी वरिष्ठ नेता तथा उपसभापति डाेलप्रसाद अर्यालले उद्घाटन गर्नेछन् भने समापन समारोहलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

मंगलबारको सत्रमा पार्टी उपसभापति स्वर्णिम वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे जानकारी दिने छन् भने महामन्त्री बुर्लाकाेटीले पार्टी र संसदको सम्बन्धबारे सांसदहरूलाई प्रशिक्षित गर्ने कार्यतालिका रहेकाे उनले बताइन्।

उनका अनुसार मंगलबार र बुधबार हुने कार्यक्रममा देशको वर्तमान अवस्था, पार्टीको वाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने छ।