भोलिबाट रास्वपा सांसदलाई प्रशिक्षण: मोबाइल प्रयोग र परिवारका सदस्यसँग भेटघाट गर्न बन्देज

काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ।

चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित एक होटलमा अभिमुखीकरण प्रशिक्षण दिइने भएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। फागुन २१ को निर्वाचनबाट रास्वपाका १२५ सांसद प्रत्यक्ष निर्वाचित भएका थिए भने आइतबार ५७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाएको छ।

महामन्त्री बुर्लाकोटीले अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सहभागी हुने सांसदका लागि ७ बुँदे निर्देशन पनि जारी गरेका छन्। उनका अनुसार प्रशिक्षण आवसीय हुनेछ भने कार्यक्रम हलमा सहभागी हुने सांसदले मोबाइल प्रयोग गर्ने पाउने छैनन्। ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ,’ उनले जारी गरेको सूचनाको दोस्रो नम्बरमा उल्लेख छ।

त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाका लागि पनि निषेध गरिएको छ। परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन जारी गरेको छ।

सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाउने निषेध गरिएको छ।