काठमाडौँ । विभिन्न देशमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै छ ।
संसद सचिवालयका अनुसार मध्याह्न सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको (संयुक्त)बैठकमा विभिन्न १८ देशमा प्रस्तावित राजदूतबारे सुनुवाइ हुनेछ ।
सरकारले शंकर प्रसाद शर्मालाई भारत, नरेशविक्रम ढकाललाई साउदी अरब, प्रा डा.कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, प्रा.धनप्रसाद पण्डितलाई इजरायल, रामकृष्ण भट्टराईलाई श्रीलङ्का, सनिल नेपाललाई स्पेन, शैल रुपाखेतीलाई जर्मनी, लोक दर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो ।
त्यस्तै चन्द्रकुमार घिमिरेलाई बेलायत, डा.शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरिया, जङ्गबहादुर चौहानलाई रुस, रमेशचन्द्र पौडेललाई कतार, प्राडा कृष्णप्रसाद ओलीलाई चीन, सुम्निमा तुलाधरलाई डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिनालाई मलेसिया, प्रकाशमणि पौडेललाई पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले प्रारम्भिक बैठकबाट प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्नेछ । त्यसपछि उजुरीको समयसीमा सकिएपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ भने त्यसपछि अन्तिममा उनीहरू राजदूत बन्न योग्य रहे नरहेकोबारे सुनुवाइ हुनेछ ।